बेइजिङ, भदौ ३० । चीनमा कोराना भाइरस संक्रमणका नयाँ घटनाहरू भेटिएका छन्। फुजियान प्रान्तको एउटा प्राथमिक विद्यालयमा कोरोना संक्रमित देखिएका हुन्। प्रारम्भिक अनुसन्धानले गत साता कोभिड पोजिटिभ देखिएको सो विद्यालयका एकजना विद्यार्थीको पिताका कारण महामारी फैलिएको हुनसक्ने अनुमान गरेको छ।
चार दिनभित्र एक सयजनाभन्दा बढी व्यक्तिमा कोभिड संक्रमण देखिएपछि स्थानीय प्रशासनले एक साताभित्रै सो विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई स्वास्थ्य परीक्षण गराउन कडा निर्देशन दिएको छ। विश्वमै पहिलोपटक कोरोना भाइरस देखिएको चीनको हुवेइ प्रान्तको वुहानपछि नानजिङमा अर्को ठूलो कोरोनाको मार परेको एक महिनापछि फुजियान यो स्थितिमा पुगेको हो।
करिब तीस लाख जनसंख्या भएको फुजियान प्रान्तको पुसियान शहर यस महामारीको शिकार भएको हो। गत ४ अगस्टमा सिंगापुरबाट फर्केको ३८ दिनपछि अर्थात् १० सेप्टेम्बरमा ती अभिभावक कोरोना पोजिटिभ देखिएका थिए।
सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार २१ दिन क्वारेन्टाइनमा बसेका ती अभिभावकको कोरोना परीक्षण नेगेटिभ आइसकेको छ। उनलाई विदेशमा कसरी भाइरस सर्यो भन्ने स्पष्ट हुन सकेको छैन। फुजियान प्रान्तका सरकारी अधिकारीहरूले महामारी नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक स्थलहरूमाथि वन्देजहरू लगाइसकेका छन्। एजेन्सी


























