चितवन, भदौ २८ । पूर्वी चितवनको रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ। रत्ननगर नगरपालिका, स्थानीय व्यवसायी र इलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियतामा क्यामेरा जडान गरिएको हो।
रत्ननगरको टिकौली चोकदेखि तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२ वटा सिसी क्यामेरा जडान गरिएको हो। रत्ननगर नगरपालिकाले १४ र अन्य व्यवसायीको सहयोगमा ८ सिसी क्यामेरा जडान गरिएको हो। भीडभाड हुने, दुर्घटना बढी हुने र आपराधिक क्रियाकलाप बढी हुने क्षेत्रमा क्यामेरा जडान गरिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए।
रु २३ लाख ५० हजारको लागतमा जडान गरिएका ती क्यामेरा १२ स्थानमा राखिएको छ। क्यामेराको औपचारिक शुभारम्भ गर्नुहुँदै वनले नगर क्षेत्रभित्र हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुगोस् भनेर सिसी क्यामेरा जडानमा सहयोग गरेको बताए।
नगरपालिकाका उपप्रमुख बिमला दुवाडीले नगरमा शान्ति र अमन चयन कायम गर्न यसले सहयोग पुग्ने बताए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सिसी क्यामेरा जडानसँगै मुख्य सहरी क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरीलाई सहज हुने बताए। उनले भने, “सिसी क्यामेराले मुख्य दोषी छुट्याउन सहज बन्ने छ।”
जडान गरिएका सिसी क्यामेराको अनुगमन इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रण कक्षबाट हुने छ। अधिकारीका अनुसार जिल्लाका सातै पालिकामा प्रहरीले सिसी क्यामेरा जडानका लागि आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेको छ। रासस


























