चितवन, भदौ २६ । नारायणगढको शहीदचोकमा रहेको महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबारदेखि संस्थाको नवौँ वार्षिक साधारण सभा सुरू गरेको छ।
संस्थाको कार्यालय परिषरमै बिहान १० देखि दिउँसो ३ बजेसम्मको लागि समयसीमा तोकेर साधारण सभामा उपस्थित हुन साधारण सदस्यहरूलाई सूचित गरिएको संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले जानकारी दिए। तीन हजारभन्दा बढी सदस्य संख्या रहेको सहकारीले दैनिक चारसय जनाको उपस्थिति गराउने गरी दस दिन लामो साधारण सभा आयोजना गरेको हो। कोरोना भाइरस संक्रमणको जोखिमका कारण एकैदिन भेला गराउने वातावरण नभएपछि त्यसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डसहित साधारण सभा सम्पन्न गर्नुपरेको उनले बताए।
‘एकदिनमा जानेआउने गरी बढीमा चारसय जनासम्म उपस्थित गराउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘आफ्नो समयानुकूल साधारण सदस्यज्यूहरू आउनुहुन्छ। दिनमा चारसय जनाको उपस्थिति गराउने भनिए पनि एकैपटकमा यति धेरै संख्यामा साधारण सदस्यहरूको भेट हुँदैन।’ कारोना भाइरस संक्रमणकै कारण विश्वमै बैंक तथा वित्तीय संस्थाहरूमा नकारात्मक असर पारिरहेका बेला नेपालमा सहकारी संस्थाहरू पनि धराशयी अवस्थामा पुगेको उनले बताए।
तैपनि सेयर सदस्यहरूलाई गत आर्थिक वर्षको ऋण ब्याजमा ऋिणीको आर्थिक अवस्था हेरी २५ प्रतिशतसम्म छूट गराएको संस्थाले जनाएको छ।


























