चितवन, भदौ २० । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १९औं तथा कालिका एचडीको सातौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ। कोरोनाका कारण सिर्जित परिस्थितीलाई मध्यनजर गर्दै एफएमले यसपाली पनि भर्चुअल माध्यमबाट बार्षिकोत्सवका अधिकांश कार्यक्रम संचालन गर्नेछ। गत बर्ष पनि महामारीकै कारण पृथक रुपमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको थियो। विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवदेखि निरन्तरता दिने गरी यो वर्ष केही पृथक कार्यक्रम समेत गरिने भएको हो।
२०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १९ वर्ष पुरा गरी २० औँ वर्षमा प्रवेश गर्दै छ। पूर्व मन्त्री एंव कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आज(आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षका वार्षिकोत्सवका कार्यक्रम सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनका माध्यमबाट गर्न लागिएको जानकारी दिए। “विश्वमा फैलिदै गइरहेको कोभिड–१९ अर्थात कोरोना भाइरसको कहर सँगै सिंगौरी खेल्दै समयानुुकूल कार्यक्रमहरु आयोजना गर्न गइरहेको सहर्ष जानकारी गराउदछौ।”– विज्ञप्तीमा भनिएको छ।


स्थापनाकालदेखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ।
बार्षिकोत्सवका अवसरमा यसपाली विविध १२ वटा कार्यक्रम गरिदै छ। असोज १ गते देवघाटधाममा रहनुभएका वृद्ध–वृद्धाको सम्मानार्थ स्वस्थ्य सामाग्री प्रदान गर्दै मिष्ठान्न भोजन ग्रहण गराउने गरि बार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने कालिका मिडियाका निर्देशक दिपक पौडेलले जानकारी दिए। उनका अनुसार असोज ४ गते कृषकहरु प्रति लक्षित गर्दै कृृषिमा आधुुनिकिकरण तथा व्यवसायीकरणबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम, ७ गते व्यवसायमा कोरोनाको प्रभाव न्युुनिकरण बिषयक सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यक्रम, ११ गते फस्टाउँदो सामाजिक संजाल र मुुलधार मिडियाको पत्रकारिता विषयक अन्तरक्रिया, १४ गते बस्ती भित्र लुुकेका हस्तीहरुका प्रतिभा प्रदर्शन गर्ने कार्यक्रम, १६ गते अन्तराष्ट्रिय साहित्य सम्मेलन, २० गते अन्तर कर्मचारी खेलकुुद प्रतियोगिता र २३ गते एकोस्टिक सिंगिङ्ग कम्पिटिसन हुनेछ। कालिका फेसबुुक क्वीज कार्यक्रम असोज १ गते देखि नै सुरु भएर २० गते सम्म संचालन हुनेछ। त्यस्तै कालिकाको चौतारी २ देखि २५ गते सम्म दिउँसो १ बजेबाट २ बजे सम्म संचालनमा आउने निर्देशक पौडेलले बताए। असोज २६ गते पुरस्कार वितरणका साथै वार्षिकोत्सव समापन समारोह हुनेछ।

निर्देशक पौडेलले कालिका मिडिया सदैव श्रोता, दर्शक निकट रहने बताए। कालिका मिडिया अन्र्तगत कालिका एफएम २०५९ देखि, सांगितिक रेडियो कालिका ९१ २०६४ देखि र कालिका एचडी टेलिभिजन २०७१ सालदेखि, सुरुवातदेखि नै कालिका न्यूज डटकम सञ्चालनमा छन्। जनचासो, जनसरोकारका सवालमा कालिका मिडियाले सदैव प्रतिवद्ध रहदै कार्यक्रम प्रशारण गर्दै आइरहेको छ।


























