भदौ १९ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्ल्यान्ड आईपुगेका छन्। इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका रोनाल्डो शुक्रबार इंग्ल्यान्ड आईपुगेका हुन्।
पोर्चुगलले रिलिज गरेपछि रोनाल्डो इंग्ल्यान्ड आएका हुन्। पाँच दिनको क्वारेन्टिनपछि रोनाल्डो टिमको प्रशिक्षणमा सामेल हुने छन्। युनाईटेडले मंगलबार फरवार्ड रोनाल्डोलाई युभेन्ट्सबाट अनुबन्ध गरेको थियो।
३६ वर्षीय रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन्। रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका हुन्। यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए। उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए।
त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए। पाँच पटकको बालोन डीु ओर विजेता रोनाल्डो इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए। रोनाल्डो २००९ मा स्पेनिस क्लब आएका थिए। रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए। एजेन्सी


























