भदौ १८ । घरेलु टिम श्रीलंकाले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकालाई पराजित गरेको छ। कोलम्बोमा बिहीबार राति श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले हराएको हो।
यस जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता बनाएको छ। दुई टिमबीचको दोस्रो खेल शनिबार हुनेछ। श्रीलंकाले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रीकाका लागि एडिन मार्क्रमले ९६ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै रस्सी भान डेर डुसेनले ५९ रन जोड्दा हेन्रिच क्लासेनले ३६ रन बनाए। कप्तान टेम्बा बाभुमा ३८ रन जोड्दा रिटायर्ड हर्ट भए। श्रीलंकाका अकिला धनन्जयले २ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन जोडेको थियो। श्रीलंकाका अभिस्का फर्नान्डोले १ सय १८ रनको शतकीय इनिङ्स खेले।
चारिथ असालंकाले ७२ रन जोड्दा धनन्जय डी सिल्भाले ४४ रन बनाए। दक्षिण अफ्रीकाका कागिसो राबडा र केशव महाराजले २/२ विकेट लिए।


























