काबलु, भदौ १७ । अफगानिस्तानमा तालिबानले बिहीबार नयाँ सरकारको घोषणा गर्न सक्ने जनाइएको छ। बीबीसीले तालिबानका वरिष्ठ नेता अहमदुल्लाह मुत्तकीले राष्ट्रपति भवनमा एक समारोहको तयारी भइरहेको जानकारी दिएको उल्लेख गरेको छ। उनले सामाजिक सञ्जालमा सो जानकारी दिएका छन्।
तालिबानका वरिष्ठ अधिकारीहरुले केही दिनपहिला अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा तालिबानका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुन्दजादाको नेतृत्वमा एक शासकीय परिषद् गठन हुन सक्ने बताएका थिए।
मुल्ला हिब्तुल्लाका तीनजना उपप्रमुख छन्। तालिबानका संस्थापक मुल्ला उमरका छोरा मौलाभी याकूब, हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानी र तालिबानका संस्थापक सदस्य मध्य एक अब्दुल गनी बरादर उपप्रमुख हुन्।
गत अगस्ट १५ मा तालिबानले काबुललाई कब्जामा लिएको थियो। ३१ अगस्टमा अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट फर्किसकेको छ। विगत १५ दिनयता अफगानिस्तान तालिबानको नियन्त्रणमा रहे पनि नयाँ सरकार भने बनाइएको छैन। एजेन्सी


























