भदौ १७ । किलीयन एम्बाप्पेले पिएसजीसँग सम्झौता नवीकरण गर्न फेरी अस्वीकार गरेका छन्।
रियल म्याड्रिडले एम्बाप्पेलाई किन्न गरेका सबै प्रस्तावलाई पिएसजीले अस्वीकार गरेपछि सम्झौता नवीकरणका लागि दिएको नयाँ प्रस्ताव एम्बाप्पेले अस्वीकार गरेको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन्।
पिएसजीले एम्बाप्पेलाई ४५ मिलियन युरो बार्षिक पारिश्रमिकको नयाँ प्रस्ताव दिएको बताइएको छ। दुइ बर्षका लागि आकर्षक पारिश्रमिकसहित पिएसजीले गरेको प्रस्ताव अस्विकार गरेर एम्बाप्पेले ठुलो झट्का दिएको विश्लेषण गरिएको छ।
पिएसजीमा अब आउदो जुन सम्म सम्झौता रहेका एम्बाप्पे आउदो जनवरीमै रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरसम्बन्धि सम्झौता गर्न स्वतन्त्र हुने हुनाले पिएसजी व्यवस्थापन तनावमा परेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
रियल म्याड्रिडबाट खेल्ने आफ्नो सपना रहेको बताउने एम्बाप्पेका लागि रियलले डेडलाइन डे को अन्तिम समयमा पिएसजीको माग अनुसार २२० मिलियन युरोको अफर गरेपनि पिएसजीले सो अफर अस्वीकार गरेको थियो। रियलले यस अघि दुइ पटक १६० र १७० मिलियन युरोको अफर पिएसजीलाई दिएको थियो।
यस अघि रियलको अफरलाई अस्वीकार गरेकोमा एम्बाप्पे पिएसजीसँग असन्तुष्ट बनेका बताइएको छ। रियल म्याड्रिडले एम्बाप्पेसँग जनवरीमा फ्री-ट्रान्सफरको सम्झौता गर्ने सैधान्तिक सहमति भएको कुरा बाहिर आएको छ।


























