काबुल, भदौ १३ । अमेरिकी सेनाले अफगानिस्तानको पूर्वी भागमा आफूले गरेको एक ड्रोन विमान आक्रमणमा इस्लामिक स्टेट समूहको अफगानिस्तानका लागि बम योजनाकार मारिएको हुनुपर्ने विश्वास व्यक्त गरेका छन्। ती आशंकित आईएस–के ग्रुपका सदस्यलाई नान्गारहार प्रान्तमा आक्रमण लक्षित गरिएको थियो। आइएस–केले आफूले बिहीबार राजधानी काबुलस्थित विमानस्थलबाहिर बम आक्रमण गरी १३ जना अमेरिकी सैनिकलगायत एक सय ७० जनाको ज्यान लिएको दाबी गरेको छ।
यसै महिना मात्र तालिवान लडाकुहरूले अफगानिस्तानमा पूर्ण नियन्त्रण जमाएयता सोही विमानस्थलमार्फत थुप्रै विदेशी र अफगान जनताले तालिवानको डरका कारण अफगानिस्तान छाडिसकेका छन्। विगत दुई सातायता एक लाखभन्दा बढी मानिसले अफगानिस्तान छाडिसकेको विश्वास गरिएको छ । अमेरिकाले आफ्नो फौजले अफगान भूमि छाड्न तोकेको समयसीमा मंगलबार सकिँदै छ।
बिहीबारको बम आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार जिहादीहरूको शिकार गरिने प्रतिबद्धता जाहेर गरेका थिए।
आइएस–के अर्थात् इस्लामिक स्टेट खोरासान प्रान्त अफगानिस्तानमा सक्रिय अन्य सम्पूर्ण जिहादी लडाकु समूहमध्ये सबैभन्दा अतिवादी र हिंसात्मक रहेको मानिन्छ। मध्यपूर्वबाट उडाइएको रिपर ड्रोनले एउटा कारमा रहेका ती योजनाकार र अन्य एक आईएस सदस्यलाई घटनास्थलमै मार्न सफल भएको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ। एजेन्सी


























