काठमाडौं, भदौ ५ । जापान सरकारले नेपाललाई दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ। जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सम्ममा काठमाडौँ आइपुग्ने छ।
१६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सिसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए।
गत बुधबार र बिहीबार गरी चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको छ। नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो।
अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० अस्ट्राजेनेका गरि १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।
काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ।
यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ। काठमाण्डौंमा यो अभियान भोलिसम्म चल्नेछ। देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


























