काठमाडौं, भदौ ४ । नेकपा एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएका छन्।
निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरिसकेको स्रोतले जनाएको छ।
आयोगका एक पदाधिकारीले भने, ‘उहाँहरुलाई आयोगको तर्फबाट यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले पनि मिल्दैन र फागुन २३ को सर्वोच्चको फैसलाले पनि मिल्दैन भनेर अर्को नाम लिएर आउन भनिसकेका छौं।’
आयोगका एक उच्च अधिकारीका अनुसार नेकपा एमाले (समाजवादी) को साटो अर्को नाम लिएर आउन राजेन्द्र पाण्डेलाई सूचित गरिसकिएको छ।
त्यस्तै जसपाका नेताहरुलाई पनि अर्को नाम ल्याउन भनिएको छ। आयोगमा यसअघि गत बुधवार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज दुवै पक्षलाई उपलब्ध गराइने आयोग स्रोतले जनाएको छ। उनीहरु अनुसूची भरेपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ।


























