मकवानपुर, साउन ३० । मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियानअन्तर्गत पछिल्लो पटक १६४ घर खरको छानोमुक्त भएका छन्। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घर छनोट भएर नागरिक लाभान्वित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सो सुविधा लिएका छन्। ३ नम्बर वडाका १८, ४ नम्बर वडाका २०, ५ नम्बर वडाका १७, ६ नम्बर वडाका १७, ७ नम्बर वडाका २०, ८ नम्बरका १८ र ९ नम्बरका २० घरधुरी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ।
सङ्घीय सरकारले उपलब्ध गराएको रकम रु ५० हजारको दरले १६८ घरपरिवारलाई वितरण गरिएको थियो। त्यस्तै प्रदेश सरकारकातर्फबाट रु २५ लाख र स्थानीय सरकारका तर्फबाट रु २५ लाख गरी कूल रु ५० लाखमार्फत १२५ घरधुरीलाई रु ४० हजारको दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो। गाउँपालिकाका अधिकांश घर पछिल्लो पटक खरको छानोमुक्त बनेका छन्। रासस


























