साउन २९ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिमको प्रशिक्षणमा सामेल भएका छन्। पीएसजीमा अनुबन्ध भएपछि मेस्सी पहिलो पटक टिमको प्रशिक्षणमा जोडिएका हुन्।
पीएसजीले मेस्सी बिहीबारबाट टिमको प्रशिक्षणमा सामेल भएको जनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो। ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन्। सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ।
मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन्। ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन्। बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए।
मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए। मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन्। बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका थिए।


























