म्याग्दी, साउन २३ । भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनर्निर्माण भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विक्रम संवत् २०७२ सालको भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनर्निर्माण गरेको हो।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ वटा विद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुनर्निर्माण भएको जानकारी दिए।
‘१०५ विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ वटा खानेपानी आयोजना पुनर्निर्माण गर्ने लक्ष्य रहेको थियो,’ उनले भने, ‘८८ विद्यालयका २८२ कक्षा कोठा, ४५ शौचालय र २५ वटा खानेपानी पुनर्निर्माण सकिएको छ।’ ३० वटा २ कोठे, १० वटा ३ कोठे, ४८ वटा ४ कोठे भवन पुनर्निर्माण भएको छ। ३५ वटा भवन गत आर्थिक वर्ष २०७७र७८ मा निर्माण सकिएका हुन्।
गत वर्ष ३७ वटा ४ कोठे, ३ वटा ३ कोठे, १० वटा २ कोठे भवन पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो। गत आवमा २४ वटा ४ कोठे, १ वटा ३ कोठे र १० वटा २ कोठे भवन निर्माण सकिएका छन्। ४५ शौचालय र २५ वटा खानेपानीका योजना निर्माण भएको छ।
गत वर्ष सम्झौता भएका १७ वटा भवन, ५ वटा शौचालय र २ वटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ। १३ वटा ४ कोठे, २ वटा ३ कोठे र २ वटा २ कोठे भवन निर्माणाधीन अवस्थामा छन्।
१ वटा ४ कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रंगरोगन गर्ने अवस्थामा रहेका एकाइका इन्जिनीयर विष्णु रिजालले बताए। आव २०७७/७८ मा ३० शौचालय र २७ वटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो। ५ शौचालय र २ खानेपानीका योजना निमाणाधीन अवस्थामा छन्।
आव २०७३/७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मार्फत विद्यालय भवन पुनर्निर्माण कार्यको थालनी भएको थियो। विक्रम संवत् २०७६ साउन १ गते जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुनर्निर्माणले थप तीव्रता पाएको छ। रासस


























