साउन २३ । नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भएकी छिन्। टोटेनहमले शुक्रबार अस्मितालाई अनुबन्धित गरिएको जनाएको छ।
डिफेन्डर अस्मितालाई टोटेनहमले एस्टन भिल्लाबाट अनुबन्ध गरेको हो। १९ वर्षीया अस्मिताले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेकी छिन्। अस्मिता गत सिजन एस्टन भिल्लाको ‘प्लेयर अफ द सिजन’ घोषित भएकी थिइन्। भिल्लाको उत्कृष्ट खेलाडी घोषित हुँदै अस्मिता प्लेयर अफ द सिजन चुनिएकी हुन्।
अस्मिताले गत सिजनको वुमन्स सुपर लिगमा १८ खेल खेलेकी थिइन्। इंग्ल्यान्डको यू-१९ टिमकी सदस्य समेत रहेकी अस्मिताले २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी थिइन्।
एस्टन भिल्लाको उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गरेपछि अस्मितालाई क्लबले व्यवसायिक सम्झौता गरेको थियो। अस्मिताले २०१७/१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, म्यानेजमेन्ट र समर्थकलाई प्रभावित पारेकी थिइन्। अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडमीमा आबद्द भएकी थिइन्।
इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताका बुवा अमृत आले पूर्व गोरखा सैनिक हुन्। तनहु दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन्। आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षण अमृत पनि रहेका थिए। एजेन्सी


























