काठमाडौं, साउन १४ । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ। बैठक अहिले केहिबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।
आजको बैठकमा मन्त्रिपरिषद विस्तारअघि मन्त्रालय बाडफाँडमा शीर्ष नेताहरुले सहमति जुटाउने तयारी गरेका छन्। यसअघि बुधबार भएको बैठकले मन्त्रालय बाडफाँडको जिम्मा टुंग्याउन शीर्ष नेतालाई दिने निर्णय भएको थियो।
बैठकमा गठबन्धनको न्यूनतम साझा कार्यक्रमका बारेमा पनि छलफलको तयारी भएको छ। आजको बैठकले मन्त्रालय बाडफाँड टुंग्याए शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ।
हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन्। महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन्। सरकार गठन भएको दुई साता हुँदा पनि गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ। तर एमालेको नेपाल समूह र जनमोर्चा तत्काल सरकारमा नजाने भएपछि देउवा नेतृत्वको यो सरकारमा कांग्रेस, माओवादी र जसपा मात्रै हुने भएको छ।


























