काठमाडौं, साउन १२ । पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि उनले सफाइ पाएका हुन्।
मंगलबार उच्च अदालतले उनीविरुद्धको मुद्दामा सुनुवाइ गर्दै सफाइ दिएको छ। उच्च अदालतले काठमाडौँ जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्यो। उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो।
महराविरुद्धको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन्।
सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो। आरोपपछि उनले २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए।
०७६ असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्राउ परेका उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए। उनलाई २०७६ फागुन ५ गते काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो। त्यसपछि उनकझ मुद्दा उच्च अदालत पाटन पुगेको थियो।


























