चितवन, साउन १० । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसँगै यहाँ सङ्कलन हुने राजस्वमा समेत एक चौथाइ भन्दा बढीले कमी आएको छ। निकुञ्जले सङ्कलन गर्दै आएको राजस्वमा अघिल्लो आवको भन्दा गत आवमा कूल रु १५ करोड ४८ लाख ९३ हजार ५१५ ले कमी आएको जनाइएको छ। निकुञ्जमा गत आव २०७७/७८ मा जम्मा रु चार करोड ४३ लाख ६२ हजार १६६ मात्रै राजस्व सङ्कलन भएको छ भने अघिल्लो आव २०७६/७७ मा रु १९ करोड ९२ लाख ५५ हजार ६८१ राजस्व सङ्कलन भएको थियो।
यहाँ घुम्न आउने पर्यटकबाट सङ्कलन हुने राजस्व घट्दा निकुञ्जले सङ्कलन गर्ने राजस्वमा कमी आएको सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अधिकारीले बताए। उनका अनुसार अघिल्लो आव भन्दा गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु १६ करोड ४८ लाख ४७ हजार २३६ कम राजस्व सङ्कलन भएको छ।
अघिल्लो आव २०७६/७७ मा पर्यटक शुल्कबाट रु १८ करोड ७३ लाख ८५ हजार ६४ राजस्व सङ्कलन भएकामा गत आव २०७७/७८ मा रु दुई करोड ५५ लाख ३७ हजार ८२८ मात्रै राजस्व सङ्कलन भएको अधिकारीले बताए। रासस


























