चितवन, साउन १० । डिभिजन वन कार्यालय चितवनले जडीबुटी र फलफूलका बिरुवा वितरण गरिरहेको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जडीबुटी, फलफूल र अन्य बिरुवा गरी डेढ लाख बिरुवा वितरण भइसकेको छ। उनले डिभिजन वन कार्यालयले चालु आवमा दुई लाख पाँच हजार बिरुवा उत्पादन गरेको बताए।
उनले भने, “फलफूल र केही जडीबुटीका बिरुवा खरीद गरेर ल्याई वितरण गरेका हौँ, अन्य बिरुवा डिभिजन वन कार्यालयले नै उत्पादन गरेको छ।” उनले डिभिजन वन कार्यालयमै एक लाख ७५ हजार बिरुवा र ३० हजार बिरुवा खैरहनी सबडिभिजन वन कार्यालयमा उत्पादन गरिएको जानकारी दिए।
सूचना अधिकारी खनालले भने, “कबुलियती वन, सामुदायिक वन र अन्य निजी सङ्घसंस्थालाई बिरुवा वितरण गरेका छौँ।” उनले बिरुवा वितरण कार्य अन्तिम चरणमा पुगेको बताए। जिल्लामा ४३१ कबुलियती वन र ९३ सामुदायिक वन छन्। रासस


























