मुम्बई, साउन ६ । गत सोमबार मुम्बई प्रहरीले पोर्नोग्राफीको एक मामलामा अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्रालाई पक्राउ गर्यो। राजलाई मुम्बईको सेशन्स कोर्टमा उपस्थित गराएर प्रहरीले हिरासतमा राख्नुपर्ने माग राखेपछि उनलाई जुलाई २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ।
राजको विषयमा समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो प्रकरणमा शिल्पाको भूमिका के हो भन्ने प्रश्न उठिरहेका छन्। प्रहरीले पनि यो विषयमा अनुसन्धान गरेर निश्कर्ष निकालिसकेको छ।
प्रहरीका अनुसार राजको मामलामा अहिलेसम्म शिल्पाको भूमिका प्रष्ट देखिएको छैन। प्रहरीले राजबाट पीडित बनेकाहरुलाई क्राइम ब्राञ्चसँग सम्पर्क गर्न आव्हान गरेको छ।
मुम्बई प्रहरीका जोइन्ट कमिश्नर अफ पुलिस मिलिन्द भारम्बेले यो मामलामा हालसम्म शिल्पाको भूमिका नदेखिएको बताए। उनले शिल्पालाई हालका लागि ‘क्लीन चिट’ दिएको खुलाए।
यसै वर्षको फेब्रुअरीमा प्रहरीमा पोर्न रेकेटसँग जोडिएको उजुरी परेको थियो। त्यही उजुरीका आधारमा प्रहरीले गहना वशिष्ठ, उमेश कामतलगायतलाई पक्राउ गरेको थियो।
करिब ५ महिना लामो अनुसन्धान पछि प्रहरीले सोमबार राती राजलाई पक्राउ गरेको थियो। प्रहरीले राजलाई पक्राउ गर्नका लागि पर्याप्त प्रमाण रहेको दाबी गरेको थियो। बलिउड लाइफ


























