असार ३० । बङ्गलादेशमा इदका लागि एक हप्ता लकडाउन हटाइने भएको छ। इस्लाम धर्मावलम्बीहरूको इद उल अजहालाई लक्षित गरेर जुलाई १५ देखि २२ सम्म लकडाउन खुला गर्ने निर्णय भएको हो। इस्लाम धर्मावलम्बीहरूको चाड इद उल अजहा बङ्गलादेशमा यस वर्ष जुलाई २१ सम्म मनाइने भएको छ।
लकडाउन खुला गरे पनि कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनुपर्ने बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले बताएका सिन्ह्वाले जनाएको छ। भीडभाड हुने ठाउँसहित पसलहरू, सपिङ मलमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ।
बङ्गलादेशमा पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ६८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन्। यो अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो। बङ्गलादेशमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १० लाख ३४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य सेवा महा(निर्देशनालयले जनाएको छ। एजेन्सी


























