काठमाडौं, असार २९ । सरकारले आजदेखि सर्वसाधारणलाई अमेरिकाबाट ल्याइएको कोरोनाविरूद्धको खोप लगाउन अभियान थाल्दैछ। अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप र चीनबाट ल्याएको ८ लाख डोज भेरोसेल लगाउन थाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भेरोसेल खोप ५५ वर्षभन्दा माथिका उमेर समूह, विश्वविद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालकलाई लगाइँदैछ। यसअतिरिक्त खोप अनिवार्य गरिएको देशमा जान लागेका नेपालीले पनि भेरोसेल खोप लगाउने पाउनेछन्।
जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५५ वर्ष उमेर समूह, अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी एवं स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि लगाउन पाउने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
खोप लगाउन जाँदा नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण पेस गर्नुपर्नेछ। सार्वजनिक सवारीका चालक, सहचालकले आधिकारिक परिचयपत्र र सवारीसाधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप लगाउन पाउनेछन्।
विश्वविद्यालय, विद्यालयका शिक्षक र कर्मचारीले पनि आधिकारिक परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन्। विदेश जान लागेकाको हकमा पासपोर्ट र सम्बन्धित देशको भिसाका आधारमा खोप लगाउन पाउने मन्त्रालयले उल्लेख गरेको छ। तर कोभिशिल्ड खोपको एउटा मात्रा लगाएकाहरुले यो खोप लगाउन नहुने पनि मन्त्रालयले जनाएको छ।


























