चितवन, असार २६ । नेचर गाईड एशोसियसन चितवनले ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड-१९ महामारीका कारण पर्यटन क्षेत्र तहसनहस भएपछि पर्यटकलाई घुमाएर खाने आफ्नो पेशा समेत बन्द भएका कारण शनिबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गर्दै एशोसियसनले आफ्ना ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको हो।
नेचर गाईडहरुले चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई वन्यजन्तु र वातावरणको महत्व आदी लगायतका बारेमा जानकारी दिने काम गर्ने गरेको संस्थाका अध्यक्ष राजेन्द्र धामीले बताए। कोभिड-१९ महामारीका कारण पर्यटन क्षेत्रनै तहसनहस भएपछि त्यसको आधारमानै पर्यटनलाई घुमाएर खाने आफ्नो पेशा बन्द भएकाले पेशानै जोखिममा परेको धामीले भने।
उनले कोरोना बिरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरे। नेचर गाईड पेशा पलायन हुनबाट जोगाउन, चितवनको सफारी पर्यटनको दक्ष जनशक्ति पलायन भई भविष्यमा सफारी पर्यटनमा हुने क्षतिलाई रोक्न वार्षिक नविकरण शुल्क मिनाहा गर्न माग गरिएको बताए। नेचर गाईडहरु स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउने मात्र नभई चितवन राष्ट्रिय निकुञ्जको पेरीफेरीमा वन्यजन्तु संरक्षण र वातावरण संरक्षणको काम गर्दै आएकोले त्यस्ता गतिविधिमा नेचर गाईडलाई संलग्न गराई रोजगारी सृजना गरिदिन पनि आग्रह गरेका छन्। नेचर गाईड पेशा मर्यादित र प्राविधिक बनाउनको लागि सरकारले जतिसक्दो चाँडो नेचर गाईड कार्य विधि बनाउन आग्रह उनले गरे।
चितवन राष्ट्रिय निकुञ्जमा पथ प्रदर्शकको रुपमा कार्य गर्ने गाईडहरुको संख्या ७०० भन्दा माथि रहेको धामीले बताए।
संस्थाका पूर्व अध्यक्ष उदय चन्द्र अर्यालले गाईड पेशामा लागेकाहरुले २० देखि ७० हजार सम्मको आम्दानी गर्थे तर अहिले कोरोनाका कारण चितवनको पर्यटन र पर्यटनसँग सम्बन्धित गाईडहरुपनि विगत २ वर्ष देखि प्रभावित रहेकाले त्यसबाट रोजगारीनै गुमेको बताए।
समग्रमा नेचर गाईड पेशा अँगालेका लगभग ५०० जना छन्। जस मध्य सौराहामा ४०० जना छन् भने १५० जना होटलमा, गाईड अफिसमा १५० जना आवद्ध छन्। स्वतन्त्र रुपमा १०० जनाले काम गर्दै आएकाछन्। यस्तै, राष्ट्रिय निकुञ्जको मेघौली, घटगाई, अमलटाडी र माडी लगायतका ठाउँहरुमा १०० जना भन्दा बढी रहेका छन्।
कार्यक्रममा संस्थाका सचिव ओम प्रकाश थापा, कोषाध्यक्ष भोजराज खतिवडा, कार्य समिति सदस्य ईश्वर बोगटी, सल्लाहाकार टिकाराम गिरी लगाएतले आफ्ना भनाई राखेका थिए।


























