चितवन, असार २६ । पूर्वी चितवनको राप्ती नगरपालिका-३ निवासी सुजिता भण्डारीको शव मृत अवस्थामा जंगलमा फेला परेको घटनालाई सामान्य रुपमा लिन नहुने राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताएकीछन्।
प्रहरीले यस घटनाको छिटो भन्दा छिटो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने उनले बताइन्। मेयर प्रभा बरालले सुजिताको घटना अमानवीय, अत्यन्त दुखद् र पीडादायी घटना भएको बताइन्।
सुजिता बेपत्ता भएदेखि नै खोजीका लागि नगरपालिकाले प्रहरी प्रशासनसँग समन्वय गर्दै आएको थियो तर आइतबार साँझ मृत अवस्थामा सुजिताको शव जंगलमा फेला परेकोले यस घटनालाई सामान्य रूपमा नलिई गम्भीर रुपमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइरहेको उनले बताइन्।
सुजिता भण्डारीको शवलाई घटनास्थलबाट पोष्टमार्टमका लागि लैजान खोज्दा आफन्त र स्थानियवासिहरुले सडकमा अवरोध गरेपछी पिडित पक्ष, स्थानीय र चितवनका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला बीच भएको वार्तामा दुई बुँदे सहमति भएको थियो। मृतकको शव पोष्टमार्टम गर्ने, घटनाको निष्पक्ष छानविन गर्ने र परिवारलाई राहतका लागि सरकारसँग सिफारिस गर्ने सहमति भएको र सहमतिपछि सुजिताको शव पोष्टमार्टमको लागि एम्बुलेन्समा हालेर पठाईएको थियो। तर भोलिपल्ट बिहान एकाएक बाहिरबाट केही व्यक्तिहरु आएर शान्ति सुरक्षालाई नै खलबल हुनेगरी भिडलाई अनावश्यक उत्तेजित गराउने कार्य भएपछि प्रशासनले कर्फ्यू नै लगाउनुपर्ने अवस्था आएको बताइन्।
उनले जनताको शान्ति सुरक्षाका लागि खटिने प्रहरीहरु नै घाइते हुन थालेपछि र केही जनताहरु नै घाइते हुन थालेपछि प्रशासनले मंगलबार बेलुकादेखि बिहिबार बेलुकासम्म कर्फ्यू लगाउनु परेको बताइन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवंम् प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले सुजिता भण्डारीको मृत्यु घटनामा संकास्पद रहेका एक सयभन्दा बढी व्यक्तिहरुसँग सोधपुछ भएको बताए। सोधपुछबाट केही कुरा खुलेको र त्यसका लागि थप अनुसन्धान भइरहेको उनले बताए।
गत असार ११ गतेदेखि हराईरहेकी सुजिता भण्डारीको शव आईतबार साँझ घर नजिकैको स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको थियो। बिहानै ६ बजे घरबाट हिँडेकी भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन्। उनले सोही दिन दिउँसो १२ बजे आफ्नो दिदी कवितालाई फोन गरेर अपहरणमा परेको बताएकी थिईन्।आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन्। उनको परिवारले सुजिताको अपहरण भएको भन्दै प्रहरीमा उजुरी समेत दिएको थियो।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव सढे गलेको अवस्थामा फेला परेको थियो। वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा सुजिताको शव फेला परेको थियो।


























