असार २५ । भारतको केरलामा पनि जिका भाइरस भेटिएको छ। त्यहाँकी एक गर्भवतीलाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि केरलामा जिका भाइरस भेटिएको थिएन। सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएपछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो। १९ जनामध्ये १३ जनामा जिकाको आशङ्का गरिएको छ।
लामखुट्टेको टोकाइका कारण लाग्ने जिका भाइरसको लक्षण डेङ्गुको जस्तै हुन्छ। गर्भवतीलाई जिका भाइरसको जोखिम धेरै हुन्छ। यसले बच्चाको दिमागी विकासमा अवरोध गरी मस्तिष्कको आकार सानो बनाइदिन्छ। भारतमा सन् २०१७ मा पहिलो पटक जिका भाइरस भेटिएको थियो। सन् २०१५ मा ब्राजिलमा जिका भाइरसको प्रकोप फैलिएको थियो।
Facebook Comments


























