काठमाडौं, असार १४ । प्रतिनिधिसभा विघटनपछि सरकारविरूद्ध आन्दोलीत विपक्षी पाँच दलको गठबन्धनले आज नागरिक समाजसँग छलफल गर्दैछ। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला विपक्षी गठबन्धनले आफ्नो सक्रियता बढाएको हो।
बिहीबार विभिन्न मिडियाका सम्पादक र शनिवार राजनीतिक बिट हेर्ने सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेको गठबन्धनले त्यसअघि पाँच विद्यार्थी संगठनलाई सडक संघर्षमा उतारेको थियो।
गठबन्धनका शीर्ष नेताहरूले आज २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल गर्दै प्रतिनिधिसभा विघटनबारे उनीहरूको धारणा बुझ्नेछन्। त्यसपछि आफ्ना भनाइ राख्ने तयारी छ।
पाँच दलीय गठवन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कानूनी र राजनीतिक चुनौती दिँदै आएको छ।


























