लक्ष्मण सापकोटा, चितवन, असार १३ । साना किसान कृषि सहकारी पदमपुरलाई कालिका नगरपालिकाले ५० प्रतिशत अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको छ। आइतबार सहकारीको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख खुमनारायण श्रेष्ठले संस्थाकी अध्यक्ष गोमा सिंखडालाई १ थान ट्रयाक्टर हस्तान्तरण गरेका हुन्। ट्रयाक्टरसंगै प्रयोगमा आउने कल्ट्री,रोटाभेटर र हाइरो पनि ५० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए।
सहकारीलाई उपलब्ध गराएको ट्रयाक्टरको मुल्य १४ लाख ४ हजार ९ सय ९९ मा नगरपालिकाले ६ लाख ३७ हजार ५०० सहयोग गरेको हो भने बाँकी रकम सहकारीले भुक्तानी गरेको हो। ट्रयाक्टरसंगै नगरपालिकाले सहकारीलाई ४० हजार रुपैयाँको कल्ट्री खरिदमा १६ हजार रुपैयाँ, एक लाख ५५ हजार रुपैयाँको रोटाभेटर खरिदमा ८० हजार रुपैयाँ र ७२ हजार रुपैयाँको हाइरो खरिदमा ३७ हजार ५०० रुपैयाँ सहयोग गरेको कृषि शाखा प्रमुख पौडेलले जानकारी दिए।
ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख खुमनारायण श्रेष्ठले संस्थालाई कार्यविधि वनाएर ट्रयाक्टर प्रयोग गर्न सुझाब दिदै ट्रयाक्टरको दुरुपयोग नहुने विश्वास ब्यक्त गरे। श्रेष्ठले सहकारीलाई ट्रयाक्टर कृषि प्रयोजनका लागि मात्र प्रयोग गर्न आग्रह गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने जानकारी दिए। कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष गोमा सिंखडाले अनुदानमा ट्रयाक्टर उपलब्ध गराएकोमा नगरपालिकालाई धन्यवाद दिदै आगामी दिनमा पनि नगरपालिका संग हातेमालो गरेर अगाडी बढ्ने बताइन्। सिंखडाले ट्रयाक्टर कृषि प्रयोजनका लागि मात्रै प्रयोग हुने वताउदै दुरुपयोग नगर्ने प्रतिबद्धता ब्यक्त गरिन्।
महिलाद्धारा संचालित २०६६ सालमा स्थापना भएको साना किसान कृषि सहकारी संस्थामा हाल २ हजार ३२५ जना सदस्य रहेको छन्। ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत अच्युत राज रेग्मी, भाजुरत्न ट्रेडीङ भरतपुरका प्रबन्धक बालकृष्ण भट्टराई लगायतको उपस्थिती रहेको थियो।

























