असार ११ । नेपाल ओलम्पिक कमिटि (एनओसी) लाई स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीले प्रायोजन गरेको छ। एनओसीले शुक्रबार केल्मीसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ।
एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ र केल्मीको नेपाल प्रमुख प्रदीप न्यौपानेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतासँगै केल्मीले कमिटिलाई २० लाख बराबरको खेल सामग्री उपलब्ध गराउने छ।
टोकियो ओलम्पिकमा सहभागिता जनाउने नेपाली टोलीका लागि एनओसीले केल्मीसँग सम्झौता गरेको छ। टोकियो ओलम्पिकमा नेपाली टोलीले केल्मीको उत्पादन खेल पोशाक प्रयोग गर्ने छ।
नेपालबाट पाँच खेलाडीले टोकियो ओलम्पिक खेल्ने तय भईसकेको छ। टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ। जसमा फुटबल र बेसबल रहेको छ। औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ। ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ। कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।


























