असार ११ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो।
पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे। खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले मिगुएलको पासमा गोल गरेका हुन्।
त्यसपछि खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २-० को जित दिलाए। चिलीका ग्यारी मेडेलले कार्लोसलाई फउल गरेपछि पाराग्वेले पेनाल्टी पाएको थियो। जसमा मिगुएलले सहजै गोल गरे।
यस जितसँगै समूह ‘ए’ को पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ। पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ। पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ। चिलीले ४ खेलमा ५ अंक जोडेको छ। तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाईसकेको छ। पाराग्वेसँगको हारले चिली शीर्ष स्थानाम उक्लन असफल भएको छ।


























