असार १० । एएफसी महिला एसिया कप छनोटको ‘ड्र’ सार्वजनिक भएको छ। बिहिबार मलेसियामा भएको ‘ड्र’ अनुसार नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ परेका छन्।
समूह एफमा रहेको नेपालसँग फिलिपिन्स र हङकङ परेका हुन्। एसियन कपको छनोट नेपालमा आयोजना गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ।
एसियाका २८ देश प्रतियोगिताको ड्रमा समावेश थिए। चार समूहमा चार देश र बाँकी चार समूहमा तीन देश समावेश गर्दै समूह तालिकाको टुङ्गो लागेको हो।
समूह विजेता टोली भारतमा अर्को वर्ष हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ। प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने तय भएको छ। साविक विजेता जापान, सन् २०१८ को उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीन सहित आयोजक भारत प्रतियोगितामा छनोट भईसकेका छन्।
समूह एमा तीन पटकको च्याम्पियन चाईनिज ताईपे, बहराईन, तुर्किमिनिस्तान र लावस छन्। समूह बीमा भियतनाम, ताजकिस्तान, माल्दिभ्स र अफगानिस्तान छन्।
समूह सीमा तीन पटकका विजेता उत्तर कोरिया, सिंगापुर, इराक र इन्डोनेशिया छन्। समूह डीमा म्यानमार, युएई, ग्वाम र लेबनान समावेश छन्। समूह ईमा सन् २००३ को उपविजेता दक्षिण कोरिया, उज्वेकिस्तान र मंगोलिया तथा समूह एफमा फिलिपिन्स, हङकङ र नेपाल समावेश छन्।
यस्तै, सन् २०१८ को आयोजक जोर्डन, इरुान र बंगलादेश समूह जीमा तथा समूह एचमा सन् १९८३ को विजेता थाईल्याण्ड, प्यालेस्टाईन र मलेसिया परेका छन्।


























