असार १० । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ। कोभिड–१९ को कारण स्पेनमा तय भएको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। सिरिज आगामी जुलाई अन्तिममा हुने तालिका रहेको थियो।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले कोभिडको प्रभावका कारण स्पेनमा हुने तय भएको सिरिज स्थगित भएको जनाएका छन्। सिरिजका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण समेत सुरु गरेको थियो। बन्द प्रशिक्षणका लागि क्यानले २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो।
मुख्य प्रशिक्षक डेभ वाटमोर समेत नेपाल आएर बन्द प्रशिक्षणमा सहभागी भएका थिए। तर अन्तिम समयमा आएर कोभिडको कारण देखाउँदै सिरिज स्थगित भएको छ।
लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो। ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो।


























