असार १० । कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई हराएको छ। बिहिबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो।
ब्राजिलको जितमा रोबर्टो फिर्मिन्हो र कासमिरोले एक एक गोल गरे। खेलमा अग्रता लुइस डियाजको गोलमा कोलम्बियाले लिएको थियो। खेलको दशौं मिनेटमा जुआन कुआड्राडाको पासलाई सदुपयोग गर्दै डियाजले कोलम्बियालाई अग्रता दिलाएका थिए।
खेल सकिन १२ मिनेट अघि ब्राजिलले बराबरी गोल फर्कायो। रिनान लोडीको पासमा फिर्मिन्होले ब्राजिलका लागि बराबरी गोल फर्काए। खेलको इन्जुरी समयमा ब्राजिलले विजयी गोल गर्यो।
नेयमारले उपलब्ध गराएको पासमा कासमिरोले गोल गर्दै ब्राजिललाई जित दिलाए। कोपा अमेरिकामा ब्राजिलले लगातार तेस्रो खेलमा जित निकालेको छ।उसले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ। ब्राजिलसंग पराजित बनेको कोलम्बिया ४ अंक सहित दोस्रो स्थानमा छ।
पेरु ४, इक्वेडर २ र भेनेजुयला २ अंक सहित क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छ। बिहिबारनै भएको पहिलो खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। एजेन्सी


























