असार ९ । क्रोएसिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो।
क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे। स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए।
ह्याम्पडेन पार्कमा पेरिसिचको पासमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। खेलको ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए। युरोमा स्कटल्याण्डको यो पहिलो गोल हो।
खेलको ६२ औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसिया २-० को अग्रता दिलाए। माटियो कोभासिचको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।त्यसपछि खेलको ७७ औं मिनेटमा पेरिसिचले मोड्रिचको पासमा गोल गर्दै क्रोएसियालाई ३-१ को जित दिलाए।
यस जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो। र, समूह उपविजेता बन्यो। स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ। स्कटल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रह्यो। एजेन्सी


























