असार ८ । बेल्जियम समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे। बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो। पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो।
फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५ औं मिनेटमा आत्मघाती गोल गरे। थोमसको हेडर बल पोस्टमा लागेर फर्किएको बल लुकासलाई लाग्दै गोलमा परिणत भएको थियो।
त्यसअघि ६५ औं मिनेटमा लुकाकुको गोलले मान्यता पाएन। भीएआरमा उनी अफसाइड देखिएका थिए। तर, खेलको ८१ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए। उनले केभिन डे ब्रुएनाको पासलाई सदुपयोग गरे।
यस जितसँगै समूह ‘बी’ को बेल्जियमले शतप्रतिशत जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ। समूह विजेता बनेको बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो। पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो। यस्तै दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो।
फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो। फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो। पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ।
समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै फिनल्याण्डको अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको हो। पहिलो खेलमा डेनमार्कलाई १-० ले हराएको फिनल्याण्ड दोस्रो खेलमा रुससँग १-० ले नै पराजित भएको थियो। एजेन्सी


























