काठमाडौं, असार ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिम सातादेखि गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा खुकुलो भएकाले कक्षा १२ को परीक्षाको तयारी थालेको जानकारी दिए।
‘अब कक्षा १२ को परीक्षा गराउन छलफल गरिरहेका छौँ । सम्भवतः साउनको अन्तिम साता या भदौमा गरिसक्छौँ होला,’ उनले भने।
कक्षा १२ को परीक्षामा ४ लाख ५० हजार विद्यार्थी सहभागी हुँदैछन्।
यस्तै, बोर्डले आन्तरिक मुल्यांकनबाट एसईई परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन दिएको थियो। जसअनुसार असार मसान्तभित्रमा एसईईको नतिजा प्रकाशित भइसक्ने उनले जानकारी दिए। यसैगरी कक्षा ११ को अन्तिम मुल्याङ्कन असारभित्रै गरिसक्नुपर्ने छ। यसका लागि बोर्डले विद्यालयलाई अनुरोधसमेत गरिसकेको छ।
बोर्डले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को पढाइ सुरु गर्न गत वर्ष नै कार्यविधि बनाइदिएको थियो। अहिले पनि सोहीअनुसार मुल्याङ्कन गर्न बोर्डले विद्यालयलाई भनेको हो।


























