काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रले पार्टी फेरबदल गरेका १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ। बिहान बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार आयोगलाई जानकारी गराइएको नेता लिलामणि पोखरेलले बताए।
केन्द्रीय कमिटीका १७ सदस्यलाई पार्टीबाट हटाइएको विवरण पनि अभिलेखीकरण गर्न सूचना पठाइएको उनले बताए।
माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अख्तियारी दिए अनुसार कारबाही गरेको जानकारी यसअघि नै पठाएको थियो। तर, आयोगले केन्द्रीय कमिटीको निर्णय नभइ कारबाहीको सूचना प्रकाशन नगर्ने बताएपछि आज केन्द्रीय कमिटी बसेर निर्णय अनुमोदन गरेको हो।
माओवादीले एमाले प्रवेश गरेपछि नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु साहलगायत सदस्यहरुलाई निष्कासन गरिसकेको थियो। उक्त विषय अभिलेखीकरणका लागि आयोगमा आज पुनः जानकारी गराइएको पोखरेलले बताए।
“केन्द्रीय समितिका सदस्यहरु उता (एमाले) गइसकेको, माइन्युनटमा पनि हस्ताक्षर गरिसकेको, उनीहरुको अपानीमा पनि नाम भइसकेकाले हाम्रो पार्टीमा छैनन् भनेर अभिलेखीकरणका लागि सूचना दिएका हौं,” उनले भने।


























