असार ६ । वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाईनल खेल मौसमले प्रभावित बनाएको छ। भारत र न्युजिल्याण्डबीच साउथह्याम्टनमा जारी टेष्ट च्याम्पियनसिप दोस्रो दिन समेत प्रभावित बन्यो।
प्रतियोगिताको पहिलो दिन बर्षाको कारण पुरै प्रभावित बनेको थियो। दोस्रो दिन मात्र ६४ दशमलव ४ ओभर खेल हुन सक्यो। खराब प्रकाशका कारण दिनको खेल समय अघिनै सक्नु परेको थियो।
खेल सकिदा भारत १ सय ४६ रनमा ३ विकेट गुमाएको अवस्था थियो। कप्तान विराट कोहली ४४ र उपकप्तान आजिक्या रहाणे २९ रनमा अविजित थिए।
यसअघि न्युजिल्याण्डले टस जितेर भारतलाई ब्याटिङ्गको निम्तो दिएको थियो। न्युजिल्याण्ड ४ तिव्र गतिका बलर सहित मैदान उत्रिएको थियो। भारतका रोहित शर्मा र शुभमन गिलले राम्रो सुरुवात गरेका थिए। दुवैले न्युजिल्याण्डका बलरलाई दुख दिएका थिए।
रोहित र गिलले पहिलो विकेटका लागि ६२ रन जोडेका थिए। रोहितले ६८ बलमा ६ चौकाको मदतले ३४ रन बनाए। गिलले ३ चौका सहित २८ रन बनाए। रोहितलाई काइल जेमिसन र गिललाई निल वेग्नरले आउट गरेका थिए।
तेस्रो नम्बरमा आएका चेतेश्वर पुजाराले निकै मन्द गतिमा खेलको सुरुवात गरेका थिए। उनले ३६ बलमा खाता खोलेका थिए। उनी मात्र ८ रन बनाएर ट्रेन्ट बोल्टको हातबाट आउट भए। उनले ५४ बलमा २ चौका प्रहार गरे। त्यसपछि विराट र आजिक्या रहाणे मिलेर संयमित तरिकाले भारतको इनिङ्स अघि बढाए। दुवैले चौथो विकेटका लागि ५८ रन जोडे।
खराब प्रकाशका कारण खेल तीन पटक रोक्न परेको थियो। यसका कारण टी–ब्रेक सहित चाँडै लगिएको थियो। त्यसपछि खराब मौसमका कारण खेल ६४ दशमलव ४ बलमा रोकिएको थियो।
म्याच अधिकारीहरुले प्रकाशको मिटर जाँचेर खेल पुन सुरु गर्न सकिने बताएका थिए। तर मौसमले साथ नदिएपछि खेल चाँडैनै सकिएको घोषणा गरिएको थियो। एजेन्सी


























