असार ६ । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन्। युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘ए’ को दुई खेल हुनेछ। जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन्। दुबै खेल एकै समयमा हुनेछ।
रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ। इटाली र वेल्सबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ। इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ।
इटालीले २ खेलमा ६ अंक जोडेको छ। र, शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो। यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३-० गोल अन्तरले नै हराएको थियो।
वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ। वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ। वेल्सले २ खेलमा ४ अंक जोडेको छ। वेल्स समूहको दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको थियो।
यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ। बाकुमा हुने खेल राति पौने १० बजे सुरु हुनेछ। आज स्वीजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ । यस्तै जित निकाल्दै स्वीजरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ। स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो। टर्की भने पहिलो अंकको खोजीमा हुनेछ। समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन। पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो। एजेन्सी


























