बैतडी, असार ३ । सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ। बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो।
लगातारको वर्षाका कारण खुलाउन समस्या भएकोमा वर्षा कम भएपछि स्काभेटर र जेसिबीको सहयताले बुधबार दिउँसोेपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छाउन समस्या भएको थियो। उनले भने, “पानी पर्ने क्रम रोकिएपछि सडक विभागको स्काभेटर र जेसीबी लगाएर सडकमा खसेको पहिरो पन्छाइएको छ, अहिले सडक खुलेको छ।”
बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रु पहिरोका कारण रोकिएका थिए। अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि दुई दिनदेखि बीचबाटोमै रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन र अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू आआफ्नो गन्तव्यमा हिँडेका छन्। पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ। रासस


























