काठमाडौं, जेठ २७ । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले भोलि (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ। एसियाली फुटबलको पावरहाउस अष्ट्रेलिया र नेपालबीचको खेल राति पौने १० बजे सुरु हुनेछ।
अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य जित हुनेछ। तर, अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई फलामको च्यूरा चपाउनुसरह हुनेछ। पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ।
समूह ‘बी’ मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो। नेपाल भने चौंथो स्थानमा रहेको छ। नेपालले ६ अंक जोडेको छ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ। तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ। कुवेतमा जारी छनोटमा नेपालले चाईनिज ताईपेलाई २-० ले हराएको थियो। तर, नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो।
हेड टु हेड
नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ। जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग खेलेको थियो।अष्ट्रेलियाको घरेलु मैदानमा नेपालले फराकिलो हार व्यहोरेको थियो। क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल घरेलु टिमसँग ५-० ले पराजित भएको थियो।
उक्त खेलमा अष्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए। यस्तै ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो। नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए। शुक्रबार नेपाल र अष्ट्रेलियाबीचको दोस्रो भेट हुनेछ।


























