चितवन, जेठ २६ । भरतपुर महानगरपालिकाको अगुवाइमा विभिन्न सङ्घसंस्थाको सहयोगमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका १५० जनाको दाहासंस्कार गरिएको छ। महानगरसँगै जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको कालीबहादुर गण, देवघाट क्षेत्र विकास समिति, लायन्स क्लब, नेपााल वन पैदावर व्यवसायी महासङ्घ चितवन लगायतको सहयोगमा निःशुल्क दाहसंस्कार गरिएको हो।
महानगरले निःशुल्क शव वाहन, दाउरा र एक्साभेटर उपलब्ध गराएको छ। नेपाली सेनाले अस्पतालबाट दाहसंस्कारस्थलसम्म शव लगेर व्यवस्थापनमा सहयोग गर्दै आएको छ। देवघाट क्षेत्र विकास समितिले दाहसंस्कारस्थल नजीक दाउरा ल्याएर एउटा शवका लागि रु ५०० छुट गरेको छ।
यसैगरी लायन्स क्लबले एउटा शववाहन निःशुल्क उपलब्ध गराएको छ। नेपाल वन पैदावर व्यवसायी महासङ्घले आवश्यक दाउरा उपलब्ध गराएको छ। महानगरको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार जेठ ६ गतेदेखि हालसम्म यहाँका अस्पतालमा मृत्यु १४६ जनाको शव जलाइएको र आठजनाको शव गाडिएको छ। जलाइएकामध्ये चारजनाको परिवारले मृतकलाई भार लाग्ने भन्दै दाहसंस्कार खर्च आफैँ तिरेका छन्। उनका अनुसार कोरोनाका कारण मृत्यु भएको परिवारका लागि महानगरले दाउरा, शव बोक्नका लागि शववाहन र खाल्डो खन्नका लागि स्काभेटरको व्यवस्था गरेको हो।
कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा ठूलो रकम तिर्नु परेको गुनासो आएसँगै जेठ ५ गते महानगरप्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले सङ्क्रमितको शव व्यवस्थापनमा सहयोग गर्नका लागि महानगरलाई जिम्मा दिएको थियो। यसअघि एउटा शवका लागि रु १९ हजारदेखि २८ हजारसम्म मृतकका परिवारले तिर्न बाध्य भएका थिए। हाल अन्त्येष्टि गर्ने मानिसको अभाव भएमा केही रकम दिएर सहयोग लिनुपर्ने भए पनि मृतकका आफन्त भएको अवस्थामा दाहसंस्कार निःशुल्क भएको छ।
महानगरले दाउरा किन्न रु तीन हजार दिने गरेको छ। सो अनुसार महानगरले शवको दाहासंस्कारका लागि रु चार लाख २६ हजार बराबरको दाउरा खरीद गरी मृतकको दाहासंस्कार गरेको हो। यहाँका अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितहरूमध्ये आधाभन्दा बढी जिल्लाबाहिरका रहेका छन्। विभिन्न अस्पतालमा अहिले ३१९ जनाको उपचार भइरहेको छ। जसमध्ये सघन उपचार कक्षमा १४३, एचएफएनसीमा ३०, एचडियुमा ४३ र आइसोलेशनमा १३५ जनाको उपचार भइरहेको छ। तीमध्ये चितवनका १४४ जना रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका जनस्वास्थ्य अधिकृत पुष्पाञ्जली ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमणका कारण २३० जनाको मृत्यु भइसकेको छ। अहिले कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाहरूको भरतपुर महानगरपालिका–१ बागेश्वरी नजीक नारायणी नदी किनारमा दाहासंस्कार गरिँदै आएको छ। रासस


























