जेठ २४ । कोभिड संकटबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन्। मोदीले स्थानीय समयानुसार ५ बजे राष्ट्रलाई सम्बोधन गर्ने भारतीय समाचार माध्यमले जनाएका हुन्।
भारत कोरोना महामारीसँग जुधिरहेको बेला राष्ट्रका नाममा मोदीले गर्न लागेको सम्बोधनलाई चासोका साथ हेरिएको छ। उनले कोरोना खोप अभियानमा आएको सुस्तता, अर्थतन्त्रमाथिको चुनौतीसहित कैयौं महत्वपूर्ण विषयलाई आफ्नो सम्बोधनमा समेट्ने अपेक्षा गरिएको छ।
कोरोना भाइरसको दोस्रो लहरको असर कम हुँदै गएपछि भारतका कैयौं राज्यले लकडाउनलाई खुकुलो बनाउन थालिसकेका छन्। दिल्ली, महाराष्ट्र, उत्तर प्रदेश जस्ता राज्यमा लकडाउन खुकुलो बनाउने प्रक्रिया सुरु भइसकेको छ। बजार, मेट्रो, पसल खुल्न थालेका छन्। मोदीले आफ्नो सम्बोधनमा लकडाउन खुकुलो बनाउनेबारे सरकारको धारणा बताउने अपेक्षा गरिएको छ।
कांग्रेस सांसद राहुल गान्धीसहितका विपक्षी नेताहरुले देशभर निस्शुल्क खोप अभियान सञ्चालन गर्नुपर्ने माग राखिरहेका छन्। केन्द्र सरकारले ४५ वर्षमाथिका मानिसलाई सरकारी खोप केन्द्रमा निस्शुल्क खोप उपलब्ध गराइरहेको छ। करिब दुई दर्जन राज्यले निस्शुल्क खोप अभियान चलाइरहेका छन्। तर यस्तो अभियान चलाइरहेका राज्यले केन्द्रद्वारा देशव्यापी रुपमा निस्शुल्क खोप अभियान सञ्चालन गर्नुपर्ने बताइरहेका छन्। यो विषयलाई समेत मोदीले सम्बोधनमा समेट्न सक्ने बताइएको छ।
त्यस्तै मोदीले विशेष आर्थिक प्याकेजको घोषणा गर्न सक्ने कतिपयको अनुमान छ। कोरोना महामारीबाट सबै क्षेत्र अस्तव्यस्त बनिरहेको बेला यससम्बन्धमा केन्द्र सरकारबाट महत्वपूर्ण घोषणा हुन सक्ने समाचारमा उल्लेख छ। मोदीले गत वर्ष समेत भारतलाई आत्मनिर्भर बनाउने भन्दै २० लाख करोड बराबरको आर्थिक प्याकेज घोषणा गरेका थिए। एजेन्सी


























