काठमाडौं, जेठ २४ । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ। खेल राति पौने १० बजे सुरु हुनेछ। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताईसकेका छन्।
‘हरेक खेल सुन्यबाट सुरु हुन्छ र परिणाम मैदानको प्रदर्शनमा निर्भर गर्दछ। हाम्रो लक्ष्य सुरुबाट खेल जित्ने छ।’ प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भने, ‘हाम्रो लक्ष्य एसियन कप छनोट हुनु हो। यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ।’
अघिल्लो खेलमा चाईनिज ताईपेलाई २-० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ। ‘हामीले जोर्डनका लागि त्यतिनै तयारी गरेका छौं। जति ताईपेविरुद्ध गरेको थियौं।’ उनले भने।
जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ। जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए।
‘सबैको अपेक्षा छ, हामीले तीन अंक लिन्छौ भनेर तर फुटबलमा जे पनि सम्भव छ। मैले नेपालले ईराक र ताईपेविरुद्ध खेलेको हेरेको छु। तर उनीको स्तर र खेल्ने शैली पुरै परिवर्तन भएको छ।’ उनले भने।
छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ। नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ। जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ। तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ।
नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ। तर, नेपालको नतिजा सुखद छैन। नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ। एक खेल भने बराबरी खेलेको छ।
हेड टु हेड
विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो। जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९-० ले पराजित भएको थियो। जोर्डनका हसन अब्देल फाथले चार गोल गरेका थिए।
तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो। त्यहि नै जोर्डनविरुद्ध नेपालको सुखद नतिजा हो।
दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेपछि नेपालले बराबरी खेलेको थियो। जोर्डनका अल मुर्जनले गोल गरेका थिए। पछिल्लो पटक नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो।
विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो। उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो। जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक/एक गोल गरेका थिए।


























