जेठ १५ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ। डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७१ हजार ७२६ जनामा संक्रमण भएको छ। यो संख्या शुक्रबारको तुलनामा ८ हजारले कम हो।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ७७ लाख १९ हजार ४३१ पुगेको छ। यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो।
संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो। भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ।
संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन। पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ५६३ जनाको मृत्यु भएको छ। पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख २२ हजार ३८४ पुगेको छ। एजेन्सी


























