सुनसरी, जेठ १४ । सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा पाँच जना प्रहरी घाइते भएका छन्।
प्रहरीका अनुसार ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगर स्थित वडा समिति कार्यालयको अगाडि रहेको अस्थायी प्रहरी चौकीमा आक्रमण गर्दा असईसहित ५ जना प्रहरी घाइते भएका हुन्।
ईलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका उनीहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि आक्रमण गरेका हुन्।
डीएसपी बस्नेतका अनुसार आफूलाई धम्की आएपछि धरान ३ बस्ने प्रशन्न लिम्बू जाहेरी दिनका लागि प्रहरी चौकी गएका थिए। त्यही बेला हतियारधारी समूह चौकी पुगेको थियो।
लिम्बुलाई हतियारधारीहरुबाट बचाउन खोज्दा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए। आक्रमणबाट चौकी इन्चार्ज असई सुमन दाहालको हातमा गहिरो चोट लागेको छ।
उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। जाहेरी दिन आएका लिम्बूलाई कसले के विवादमा धम्की दिएको हो त्यसबारे भने केही नखुलेको प्रहरीले जनाएको छ। घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।


























