नवलपरासी, जेठ ९ । सल्यानबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको बोलेरो जीप नवलपरासीपूर्व कावासोती जंगलमा दुर्घटना भएको छ।
दुर्घटनामा सेनाका ६ जना घाइते भएका छन्। भे १ ज ३८४ नम्बरको जीप खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। जीपमा १२ जना सवार थिए।
घाइतेहरू सबुज गण सल्यानमा कार्यरत नेपाली सेनाका ६ जना छन्। उनीहरूको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा धादिङ धुन्चे नगरपालिका वडा नं. २ का ४० वर्षका हवल्दार राजकुमार सापकोटा, काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ११ का ३१ वर्षका प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका वडा नं. १ बस्ने वर्ष २८ का मंगल वि।क, काभ्रेकै बनेपा नगरपालिका वडा नं. ८ वस्ने वर्ष ३३ को मोची शेखर मगराती, तनहुँकै खैरेनीटार वडा नं. ६ का वर्ष ३२ का सुचिकार विकास परियार र नुवाकोटको ताडी गाउँपालिका वडा नं. २ का वर्ष ३२ का वकासी हरिचन्द्र सिटौला छन्।


























