मुम्बई, जेठ ७ । अभिनेत्री काजल अग्रवालले गत वर्ष प्रेमी गौतम किचलूसँग विवाह गरिन्। उनले विवाहपछि पनि आफूले फिल्ममा अभिनय गरिरहने र दर्शकलाई मनोरञ्जन दिइरहने प्रतिबद्धता जनाएकी थिइन्। तर अहिले भने उनी आफ्नो प्रतिबद्धताबाट पछि हटेकी छन्।
जीन्यूजका अनुसार ‘सिंघम’ अभिनेत्री काजल अग्रवालले हालै एक अन्तरवार्तामा आफूले अभिनय छोड्न सक्ने जनाउ दिएकी छन्।
‘यदि पतिले मलाई फिल्ममा काम गर्न रोक लगाउनुभयो भने म तुरुन्तै अभिनय छोड्नेछु। तर अहिले त्यस्तो वातावरण छैन। त्यहीकारण केही समयलाई अभिनयमै रहनेछु। अहिलेसम्मलाई परिवारको समर्थन छ’, उनले भनेकी छन्।
उनले आफ्नो अभिनय कहिलेसम्म रहने हो भन्ने कुराको केही टुंगो नरहेको बताएकी छन्।
काजल चाँडै नै चिरञ्जीवी स्टारर फिल्म ‘आचार्य’मा देखिँदैछिन्। फिल्मका निर्देशक कोरतल्ला शिवा हुन्। यसबाहेक काजल तमिल फिल्म ‘इण्डियन २’ र ‘हे सिनामिका’मा पनि देखिँदैछिन्। एजेन्सी

























