चितवन ०६ जेठ । पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तले आफूले काम गरेको छोटो सिनेमा हिन्दी छोटो सिनेमासँग हुबहु कपि भएको भन्दै दुःख लागेको बताएकी छन्। भारतीय छोटो चलचित्रसँग हुबहु मेल खाएपछि यसैको दोस्रो भागमा काम नगर्नेसमेत बताएकी छन्। बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा, कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछि मलाई धेरै दुःख लागेको छ। पहिले जानकारी भएको भए पक्कै पनि काम गरिँदैन्थ्यो होला।’
आफू अरुको कामलाई हुबहु कपि गर्नेको घोर विरोधी भएको भन्दै आगामी दिनमा यस्ता घटनाबाट सचेत रहनेसमेत बताएकी छन्। ‘कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ,’ उनले भनेकी छन्, ‘व्यक्तिगतरुपमा, आइडिया हुबहु कपि गर्ने कुराको घोर विरोधी हुँ म। त्यसैले अनभिज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु।’
उनले कोशिश क्षेत्रीसँगको अभिनयमा ‘मनबार’ नामक छोटो चलचित्रमा काम गरेकी थिइन्। काम गर्नुअघि कुनै कलाकार वा निर्माण समूहले यसबारे कुनै जानकारी नगराएको हुँदा आफूले गल्ती गरेको महसुस भएको उनले बताएकी छन्। फेसबुकमा अघि लेख्छिन्, ‘फेरी यो नदोहोरिएला भन्न सकिन्न। इन्टरनेटको सम्पूर्ण कन्टेन्ट हेरिसकेको पनि भइँदैन। सायद काम गर्नुअघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपि हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याई? सोच्नुपर्ने कुरा हो यो।’ अझ अगाडि लेख्छिन्, ‘उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यसमा काम नगर्ने मनसायमा पुगेको छु।’
हालको यो घटनाले एक खालको पाठ सिकाएको पनि उनले बताएकी छन्। ‘यो पाठ हो, केवल मैले होइन, सम्पूर्ण टिमले मनन गर्न जरुरी छ। अर्को एउटा महत्त्वपूर्ण पाठ, टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो। त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ।’
Facebook Comments


























