चितवन, जेठ ४ । पूर्वी चितवनको रत्ननगरमा निशुल्क एन्टिजेन परीक्षण सुरु भएको छ । नगर भित्रका चारवटा स्वास्थ्य संस्थामा आइतवार देखि परीक्षण सुरु गरिएको हो । रत्ननगर अस्पतालमा प्रत्येक बुधवार, बछौली स्वास्थ्यचौकीमा प्रत्येक आईतवार, पञ्चकन्या स्वास्थ्यचौकीमा प्रत्येक मंगलवार र पिठुवा स्वास्थ्य चौकीमा प्रत्येक बिहीवार एन्टिजेन परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए।
आईतवार यता बछौली स्वास्थ्य चौकी र पञ्चकन्या स्वास्थ्य चौकीमा पहिलो एन्टिजेन परीक्षण गरिएको छ। बछौलीमा ९ जनाको परीक्षण गर्दा ४ जना र पञ्चकन्यामा १७ जनाको परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा सहसंयोजक नरहरी श्याम शर्माले जानकारी दिए। एन्टिजेन परीक्षणका लागि रत्ननगरमा पहिलो चरणमा ६०० कीट आएको थियो। लक्ष्यण देखिएका विरामीहरुको डाक्टर र स्वास्थ्यकर्मीको सिफारिसका आधारमा मात्र परीक्षण गरिने छ।


























