जेठ ४ । भारतमा शक्तिशाली ‘ताउ-ते’ चक्रावतले कम्तीमा २० जनाको मृत्यु भएको छ। भारतका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानले कम्तीमा २० जनाको मृत्यु भएको तथा दुई लाखभन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ।
अत्यन्त शक्तिशाली भनिएको ‘ताउ-ते’ तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको जनाइएको छ। कयौँ क्षेत्रमा हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको छ।
गुजरात राज्यका विभिन्न स्थानमा बजारिएको यो तुफान सन् १९९८ यताकै सबभन्दा शक्तिशाली मानिएको छ। भारतीय मौसम विभागले गुजरातको छिमेकी राज्य महाराष्ट्रमा पनि उच्च सतर्कतामा अपनाउन अपील गरेको छ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सयभन्दा धेरै मानिस फसिरहेका छन्। तीमध्ये ३८ जनाको मात्रै उद्धार भएको छ। एजेन्सी


























